काठमाडौं। नेपाली समयअनुसार आज राती ९ः४५ मा इटली र वेल्स भिड्दैछ।
यो खेल इटलीको राजधानी रोममा हुनेछ, युरोकपका सुरुवाती दुई खेल जितेको इटलीले दोस्रो चरणको यात्रा पक्का गरिसकेको छ।
अन्तर्राष्ट्रिय फुटबलमा यो उसको लगातारको १० औं जित हो। त्यस्तै, पछिल्ला ३० खेलदेखि इटली अपराजित छ।
यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक बटुलेको छ । त्यसैले समूह एमा वेल्स दोस्रो स्थानमा छ । स्विचरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको हो।
त्यसैले आजको खेलमा इटलीलाई हराएर समूह विजेता बन्ने ध्याउन्नमा वेल्स हुनेछ, बराबरीले उसलाई समूहमा दोस्रो बनाउनेछ। इटलीसँग पराजित नै भएपनि तेस्रो स्थानका उत्कृष्ट टोलीहरुको सुचीमा परेर वेल्सले अन्तिम १६ को चरणको यात्रा गर्नसक्छ।
युरोकपमा प्रत्येक ६ समूहमध्ये शीर्ष र दोस्रो स्थानमा रहने १२ टिममात्र नभएर तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा छनोट हुन्छन्।
इटलीका प्रशिक्षक रोबर्टो म्यान्सिनीले पहिलो र दोस्रो खेलमा एकजना मात्रै खेलाडी परिवर्तन गरे । घाइते अलेस्यान्द्रो फ्लोरेन्जीको साटो गियोभानी डि लोरेन्जोलाई मैदान पठाए । तर आज उनले टोलीमा ठूलो परिवर्तन गर्नसक्छन्।
अग्रपंक्तीमा आन्द्रे बेलोट्टी र फेडरिको चिइसाले सुरुवाती ११ मै स्थान बनाउनसक्छन् । यता, जर्जियो चिल्लिनीको चोट पनि निको भइसकेको छ । तर पनि प्रशिक्षकले उनलाई आराम दिनसक्छन् । दोस्रो स्थानमा छनोट भइसकेको इटलीले आजको खेलमा दबाब लिनुपर्ने कारण छैन ।
इटलीका फरवार्ड डोमेनिको बेरार्डी आफ्नो टोलीसँग धेरै विकल्प भएको बताउँछन् । ‘हामीसँग आक्रमणमा धेरै विकल्प छ । हामी हरेक खेलमा शतप्रतिशत प्रयास गर्छौं । वेल्सविरुद्धको यो खेल हाम्रा लागि अर्को महत्वपूर्ण परीक्षा हो र हामीले यो खेल जित्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
यता, वेल्सका प्रशिक्षक पनि जितलाई नै लक्ष्य बनाएको बताउँछन् । ‘चार अंक नै दोस्रो चरणमा पुग्नका लागि पर्याप्त छ भन्नेतर्फ हामी ध्यान दिएका छैनौं । हामी इटलीविरुद्ध उत्कृष्ट खेलेर जित हासिल गर्न चाहन्छौं । हामीले खेलेको हरेक खेल जित्न चाहन्छौं र आज पनि त्यहीअनुसार खेल्नेछौं,’ उनले भने ।