काठमाडौं। जर्मनीले साबिक विजेता पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ।
शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।
खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा पोर्चुगलले दुई आत्मघाती गोल गर्यो । रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ।
उता, जर्मनी पनि युरोपियन च्याम्पियनसीपको एउटै संस्करणमा आत्मघाती गोल गर्ने र आत्मघाती गोलबाट फाइदा लिने पहिलो टोली बनेको छ । फ्रान्सबिरुद्धको खेलमा जर्मनीले आत्मघाती गोल गरेको थियो ।
दोस्रो हाफको सुरुवातमा नै काइ हाभर्टजले जर्मनीका लागि तेस्रो गोल गरे भने रोबिन गोसेन्सले जर्मनीको अग्रता फराकिलो बनाए । पोर्चुगलले मुख्य प्रतियोगितामा हालसम्म दुई पटक मात्र एकै खेलमा चार गोल खाएको छ। दुवै पटक विपक्षी टोली जर्मनी रहेको छ।
६७ औँ मिनेटमा डिआगो जोटाले पोर्चुगललाई फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन।
ग्रुप अफ डेथ मानिएको समूह एफमा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ। जर्मनी र पोर्चुगलको ३–३ अंक रहेको छ। रोनाल्डोले व्यक्तिगत रूपमा जर्मनीविरुद्ध पहिलो गोल गरेर रेकर्ड ब्रेक गरेका छन्।