म्युनिख। जर्मनीले शनिबार युरो २०२० मा पोर्चुगलको घरमा सामना गर्दा चर्को दबाबमा हुनेछ । टोलीको उद्देश्य हुनेछ, क्रिस्टियानो रोनाल्डोलाई रोक्ने । जर्मनीलाई समूह ‘एफ’ यो खेलबाट आफ्नो स्थिति अनुकूल बनाउन आवश्यक छ । तर रोनाल्डो भने आफ्नो गोलसंख्या बढाउने अभियानमै हुनेछन् ।
यी पोर्चुगाली स्टारले पाँच युरो संस्करणमा ११ गोल गरिसकेका छन् । पोर्चुगलले हंगेरीमाथि प्राप्त ३–० जितमा उनले दुई गोल गरेका थिए ।
रोनाल्डोले पोर्चुगलका लागि १ सय ७६ गोलमा १ सय ६ गोल गरिसकेका छन् । उनी सर्वकालीन सर्वाधिक गोलको कीर्तिमानबाट ३ गोल पछाडि छन् । सन् १९९३ देखि २००६ बीच इरानका अली देइले कीर्तिमानी १ सय ९ गोल गरेका थिए र अहिलेसम्म यो प्रदर्शन भंग हुन सकेको छैन । रमाइलो तथ्य के छ भने रोनाल्डोले अहिलेसम्म जर्मनीविरुद्ध गोल गर्न सकेका छैनन्, आफ्नो विपक्षी टिमविरुद्धका चार खेलमा । सन् २०१४ को विश्वकपमा ४–० हराएको थियो ।
पोर्चुगलविरुद्ध हुने खेलका लागि टोलीलाई तयार पार्दै जर्मन प्रशिक्षक जोचिम लो। तस्बिर : एपी
जर्मनीलाई विश्वास हुनेछ, एलिनाज एरिनामा आफ्नो टिम रोनाल्डोलाई रोक्न सफल हुनेछ । टिमका सेन्टर ब्याक म्याथिस गिन्टरले रोनाल्डोलाई रोक्न जिम्मेवारी हुनेछ । उनले भनेका छन्, ‘उनी अझै विश्व फुटबलका सबैभन्दा राम्रा खेलाडी हुन् । त्यसमाथि उनले यसपल्ट दुई गोल गरिसकेका छन् । त्यसैले हामी उनलाई लिएर चनाखो रहनेछौं ।’ खासमा जर्मनीमा लागि रोनाल्डो मात्र चुनौती हुने छैनन्, बुन्डेसलिगाकै प्रमुख खेलाडी आन्द्रे सिल्भा पनि रहनेछन् ।
गत सिजन एनरिच्ट फ्रांन्कफर्टका लागि सिल्भाले २८ गोल गरेका थिए । त्यसैले गिन्टर मान्छन्, रोनाल्डो र सिल्भामात्र होइनन्, ब्रुनो फर्नान्डेज, डिएगो जोटा र बर्नाडो सिल्भाले पनि उत्तिकै चुनौती तेर्साउन सक्नेछन् । तर जोचिम लोको जर्मन टिमलाई विश्वास छ, यसपल्ट पोर्चुगललाई रोक्न सकिन्छ । खासमा जर्मनीले फ्रान्सविरुद्ध पराजित खेलमा खासै खराब खेलेको थिएन, त्यसैले गिन्टरले भनेजस्तै शनिबार यो खेल जित्नमा जर्मनी प्रेरित रहनेछ ।
हंगेरीविरुद्ध फ्रान्स
बुडापेस्ट– विश्व च्याम्पियन फ्रान्सले युरो २०२० को आफ्नो दोस्रो खेलमा शनिबार हंगेरीको सामना गर्नेछ । समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्सले नकआउट चरणको यात्रा तय गर्नेछ । फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीमाथि म्युनिकमा जित पाएको थियो । हंगेरी भने पोर्चुगलसँग पराजित भएको थियो । तीन गोलको त्यो हारले हंगेरीको खेलबारे ठ्याक्कै विश्लेषण गर्दैन, किनभने हंगेरीले लामो समय आफ्नो प्रतिद्वन्द्वीलाई बहादुरीपूर्वक रोकेको थियो ।
तर खेलको अन्त्यमा लगातार तीन गोल खाएको थियो । त्यसैले यो पीडादायी हार रह्यो । यसले प्रस्ट पारेको छ, अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि खेल सजिलो हुन्न । पोर्चुगलविरुद्धको खेलबाट हंगेरीले धेरै सकारात्मक तथ्य आत्मसात गर्न सक्नेछ । टिमका प्रशिक्षक मार्को रोसीले ठीकै भनेका छन्, ‘हंगेरीले खेललाई ९० मिनेटको मान्नुपर्नेछ, ८४ मिनेट होइन ।’ फ्रान्स भने पक्कै आत्मविश्वासी हुनेछ, लगातार दोस्रो खेलमा जित निकाल्न ।
स्पेनविरुद्ध पोल्यान्ड
सेभिया– पोल्यान्ड पक्कै दबाबमा रहेको हुनुपर्छ, किनभने युरो २०२० को आफ्नो खेलमा स्लोभाकियाको हातबाट स्तब्धपूर्ण हार बेहोरेको थियो । धेरैका लागि यो आश्चर्यजनक हार रह्यो । रोबर्ट लेवान्डोस्कीको यही टिमले समूह ‘ई’ मा शनिबार स्पेनको सामना गर्नेछ । स्पेनविरुद्ध के लेवान्डोस्कीले राम्रो गर्न सक्नेछन् त ? यो अर्को प्रश्न भयो । एउटा तथ्य के निश्चित छ भने स्पेनको सामना गर्दा पोल्यान्डलाई पक्कै सजिलो हुने छैन । पोल्यान्डलाई विशेष खेल आवश्यक हुनेछ ।
स्पेनले स्विडेनविरुद्ध गोलरहित बराबरी खेलमा त्यो सबै काम गरेको थियो, जुन टिमलाई भनिएको थियो । खाली टिमले गोल गर्नमात्र बिर्सेको थियो । त्यो खेलमा स्पेनले ७५ प्रतिशत बल नियन्त्रणमा राखेको थियो, ८ सय ५२ पासहित । जबकि स्विडेनले १ सय ३ पासमात्र खेलेको थियो । त्यसैले स्पेन जतिबेला पोल्यान्डविरुद्ध मैदान उत्रन्छ, उसको अर्जुनदृष्टि गोलमै केन्द्रित हुनेछ।