काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले जनता टेलिभिजनमा कार्यरत पत्रकारलाई धम्क्याएको भन्दै पत्रकार महासंघले विज्ञप्ति निकालेर ध्यानार्कषण भएको जनाएको छ।
केही दिन अघि सुर्खेतको करेखोलामा शाहीमाथि कुटपिटको घटना भएको थियो। सोही समाचारको विषयलाई लिएर शाहीले जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई अपशब्द शब्द प्रयोग गर्दै धम्क्याएको जनाइएको छ।
गत जेष्ठ ३१ गते जनता टेलिभिजनमा प्रसारित कार्यक्रम ‘बाइलाइन’मा कुटपिटको समाचार प्रसारण भएपछि शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई टेलिफोन गरेर आफू र कार्यक्रम प्रस्तोता बस्नेतलाई अपशब्द प्रयोग गरी धम्क्याएको श्रेष्ठले महासंघलाई जानकारी गराएकी थिइन्।
प्रसारित समाचार सामग्री प्रति चित्त नबुझे कानुनी उपचार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउनु आपत्तिजनक र प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विषेश ध्यान दिन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।