यूरो २०२०: रोनाल्डोको दुई कीर्तिमान



काठमाडौं। यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन्।

मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो।

पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे। योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन्।

खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १०औँ र ११औँ गोल गरे । दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।