प्यारा विद्यार्थी भाइबहिनी,
मीठो सम्झना साथै न्यानो माया ।
कोभिड १९ का कारण विद्यालय बन्द भएको पनि महिनौ भएछ । विद्यालयको कक्षाकोठामा रमाउँदै सिकाउँदै गर्न नपाएको कति भइसक्यो । तिमीहरु पनि घरमा सुरक्षित बसेका छौ होला नि है ? मलाई विश्वास छ तिमीहरु सबैले स्वास्थ्यको मापदण्ड पालना गरेर आफू र आफ्नो परिवार सुरक्षितसँग बसेका छौ ।
यो बन्दाबन्दीको समयमा घरमा यत्तिकै दिन बिताउँदा तिमीहरुको सम्झना आइरहन्छ । यतिबेला चुलबुल गर्दै खेल्दै सिक्ने तिमीहरु के गरी दिन बिताउँदै छौ होला । तिमीहरुलाई सिकाउँदा समय गएको पत्तै हुँदैनथ्यो तर अहिले घरैमा बस्नुपर्दा कहिले विद्यालय खुल्छ र तिमीहरुसँग भेट होलाझैँ भएको छ । के गर्नु हामी आफू जोगिनको लागि सरकारको नियम पालना गर्दै सुरक्षित बसेका हाँै । हामी सकुशल रहे त पढ्ने कुरा त पढिहालौँला नि ।
विद्यालयमा कलम कापी समाउने हातमा अहिले घरमा हुँदा कसैको हातमा मोबाइल त कसैकोमा टीभीको रिमोट छ होला । ठीकै छ । आफूले भ्याइनभ्याई समय निकालेर तिम्रो पढाइका लागि सबै जिम्मेवारी पूरा गरिदिने तिम्रा बाबाआमासँगै छौ होला । घर भनेको पहिलो पाठशाला हो । तिमीहरु पनि बुबाआमाबाट राम्रा राम्रा कुरा सिक्नू है । उहाँहरुलाई सक्ने काममा सघाउनू है । जीवनसीपसँग सम्बन्धित सीपहरु उहाँहरुबाट सिक्नू है । यो त बुबाआमा र परिवारसँगै समय बिताउने, परिवारलाई बुझ्ने समय पनि त हो नि । आमालाई भान्सामा सघाउनू, आफ्नो सरसफाई गर्न सिक्नू है त ।
अँ साच्चै घरैका काममा मात्र व्यस्त नराख्नू है आफूलाई । पढाइ लेखाइलाई पनि निरन्तरता दिनु । मोबाइलमा खेल खेलेर धेरै समय नबिताउनू है । फेसबुक, टिकटकमा धेरै समय खर्च नगर्नू । बरु मोबाइलबाट पढाइसँग सम्बन्धित कुरा खोजेर सिक्ने प्रयास गर्नू । देशमा घटेका विभिन्न घटनाको जानकारी लिन समाचार हेर्ने पढ्ने गर्नू । टीभीमा धेरै कार्टुन मात्र नहेर्नू, शिक्षामूलक च्यानल पनि छन् तिनैबाट शिक्षा लिनू । घरमा आमाबुबालाई धेरै नसताउनू, दुःख नदिनू है ।
भाइबहिनीहरु विद्यालय खुलेपछि हामी विद्यालयमा आएर पहिला जस्तै रमाइलो गरी सिकौँला । खेल खेलौँला । गीत गाऔँला नाचौँला । घरमा सिकेका कुरा अनि बन्दाबन्दीको अनुभवलाई एकअर्कामा साटौँला है ।
उही तिम्रो शिक्षक
लेखक श्री जनसेवा माध्यमिक विद्यालय पाणिनि ७ अर्घाखाँचीमा अध्यापनरत हुनुहुन्छ ।