“जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा छन्”



काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेलमा बस्नु पर्ने मान्छेहरु सत्ताको कुर्चिमा बसिरहेको स्पष्ट पारेका छन्।

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङको प्रसंगलाई लिएर उनले यस्तो टिप्पणी गरेका छन्।

उनले आइतबार सामाजिक संजाल फेशबुकमा लेखेका छन्, “राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।

मेरो सुविचारित र अनुभवजन्य मान्यता छ-कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातीय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।”

उनले अगाडि लेखेका छन्, “मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिए- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिए। जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन।

रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?”