काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ।
कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो।
यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो।
उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ। कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिकता गुम्ने अवस्था छ।
कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो। त्यो वैकल्पिक प्रक्रिया ‘के हो ?’ खुलाइएको छैन। स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।
‘सभापतिले पनि भनि सक्नु भयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो। यो समाचार आजको राजधानी दैनिकमा छ।