काठमाडौ। सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेको हो।
उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।
बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए। फ्लोर क्रस गरेपछि ज्वाला, बुढा, थापा र शाहीलाई एमालेको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए।
सर्वोच्चको उक्त आदेशसँग मन्त्रीसमेत रहेका बुढा, थापा र शाहीलाई राहत मिलेको छ।