काठमाडौं। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षका दुई वरिष्ठ अधिवक्ताको बहसपछि चिया ब्रेक भएको छ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा छन् । चिया ब्रेकपछि थप छलफल हुने इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले बताए ।
यसअघि बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका छन् ।
थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको दाबी गरे।
थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ। विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो। ओलीजी विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो। संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ। धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ। यो कार्यान्वयन नहुदा संविधान नै फेल हुन्छ।’