लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचन आज



दाङ। आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुन लागेको र सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्यक्रम छ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तीन वटा मतदान केन्द्र बनाइएका छन्।

‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्रमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र हो। राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

आजै मतपरिणाम आउने सम्भावना छ। मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उनको पद गएको थियो।

यहाँ नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ।

यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनाराय पाण्डे उम्मेदवार छन्।

उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन्। पाण्डे हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेका थिए।

लुम्बिनीमा ८३ प्रदेश सभा सदस्य छन्। निर्वाचन आयोगले आइतबार अपरान्ह जसपाका ४ जना सांसदलाई पुरक मतदानको अधिकार दिएको थियो।

यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ। ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ।

स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन्। उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ। प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ।

४ जना सांसदले मतदान गर्न पाउँदैनन्। यो उपनिर्वाचनमा प्रदेश सभाका कूल ८७ सांसद रहेपनि कारवाहीमा परेका थप चार जना सांसद मतदानबाट वञ्चित हुने भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्।

त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन्।

विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेले पनि राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेको हुँदा उनी पनि मतदानबाट वञ्चित रहनेछन्।

राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ४ बढी मत प्राप्त गर्ने उम्मेदवार पनि निर्वाचित हुन सक्ने छन्।