२४ घण्टाभित्र स्पष्टीकरण नदिए महन्थमाथी कारबाही



काठमाडौं। जसपाको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ।

यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ।

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले जवाफ दिएका छैनन् ।

यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार महतो, कर्ण र शुक्लालाई पनि सोही व्यहोराको पत्र पुन: पठाइएको छ।

पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै उनले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताए ।

पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि दिएका छैनन् । यादवलाई ‘तपाईंले चाहिँ किन स्पष्टीकरण नदिनु भएको’ भनेर सोधिएको जिज्ञासा उनले आफूलाई पार्टीको विधि र पद्धति अनुसार स्पष्टीकरण नसोधिएको कारण जवाफ नदिएको दावी गरे ।

विवादको श्रृखंला स्पष्टीकरण हुँदै कारबाही गर्नेसम्मको अवस्थामा पुगेसँगै सो पार्टी विभाजनको डिलमा पुगेको छ।