ओलीको कदमलाई साथ दिने नेतालाई स्पष्टीकरण सोधिने



काठमाडौं। जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता स्वीकार नगर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले बिधि विधान विपरित एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेका अध्यक्ष यादवले जानकारी दिए।

संसदीय दलको विधान नभएको र पार्टीको निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादवले दाबी गरे। उनले पार्टीको विधान उलंघन गर्ने नेतालाई कारवाही गरिने जानकारीसमेत गराए।

बैठकले असवैधानिक तवरले संसद बिघटन गरिएको भन्दै यसको बिरोध गरेको छ। त्यस्तै संसद बिघटनको बिरुद्धमा बिपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरिएको अध्यक्ष यादवले जानकारी दिए। उनले सरकारको कदमबिरूद्ध परिवर्तनकारी शक्तिसँगको सहकार्यलाई अघि बढाउने जानकारी दिए।

यो बैठक महन्थ ठाकुरको पनि हस्ताक्षरबाट बोलाइएको बताउँदै कार्यकारिणी समितिको आजको बैठक आधिकारिक बैठक भएको यादवले दाबी गरे । ‘बैठकमा आउनलाई सबैलाई खबर पनि गरिएको थियो । तर उहाँहरु नआए पनि बहुमत सदस्यको उपस्थितिमा बैठक सम्पन्न भएको छ,’ उनले भने, ‘पार्टीमा अनुशासनहीन काम गरेकालाई पार्टीको विधान अनुसार कारवाही हुनेछ ।’

हिजै अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर आजको बैठक स्थगित भएको बताएका थिए। त्यसपछि अध्यक्ष यादवले पनि विज्ञप्ति जारी गरेर बैठक स्थगित नभएको बताएका थिए।

आजको बैठकमा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित थिएनन् ।