काठमाडौं। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनको घटनालाई नेपाली कांग्रेसले असंवैधानिक ठहर गरेको छ।
साथै काङ्ग्रेसले केपी ओली र रास्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।
‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो। यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, डा. महतले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘न्यायिक लडाई पनि लड्छौ।’ काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ।
‘मध्यरातमा नेपाली जनता सुतिरहेको बेलामा यस्तो षडयन्त्र भएको छ। हामीले विपक्षी दलको नेताको नेतृत्वमा हस्ताक्षरसहित बहुमत पुर्याएर सरकार गठन गर्न गरेको दाबी लत्याइएको छ’,काँग्रेस नेता महतको भनाइ छ।