काठमाडौं। विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन्।
काँग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो।
हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।
हस्ताक्षर जुटेपछि अहिले संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ। काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए।
सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका थिए।