राष्ट्रपति र प्रधानमन्त्रीको स्वेच्छाचारी रोक्न सबै विकल्प खुला: कांग्रेस



काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ।

साथै अन्य दलसँग छलफल गरेर केपी ओलीको स्वेच्छाचारी प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेसले बताएको छ। बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं।’