सुर्खेत। कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा आफन्तले जुटाउनु पर्ने आवश्यक सामग्री कर्णाली प्रदेश अस्पतालले आफैंले किनिदिने भएको छ । शव व्यवस्थापन गर्न आफन्तले शोकका बीच पनि झन्झट व्यहोर्नुपर्ने गुनासो आएपछि प्रदेश अस्पताल आफैंले सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
शव व्यवस्थापनका लागि चाहिने मट्टितेल, कैंची, डोरी, प्लाष्टिक लगायतका सामग्री मंगलबारदेखि अस्पताल व्यवस्थापनले नै निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरिएको अस्पताल प्रमुख डा. डम्मर खड्काले सूचना जारी गरी जानकारी गराएका छन् ।
‘कोरोना संक्रमितहरूको उपचारका क्रममा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि मृतकको परिवारले सामग्री व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गरेका छौं,’ सूचनामा भनिएको छ, ‘आफ्ना प्रियजनको मृत्यु हुँदा दुःखमा रहेका आफन्तजनको निषेधाज्ञाको समयमा बजारमा गएर यी सामग्रीको जोहो गर्नु चुनौतीपूर्ण रहेकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने छ।’
नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा आफन्तलाई नै ती सामग्री किन्न लगाइन्थ्यो। निषेधाज्ञामा बजार पूर्णरुपमा बन्द भएका कारण ती सामग्री खोज्नै समस्या हुने र कतिपयलाई आर्थिक रूपमा पनि अभाव हुने हुँदा सव व्यवस्थापनका लागि चाहिने आवश्यक सामाग्री अस्पतालले नै उपलब्ध गराउने निर्णय भएको डा. खड्काले बताए।