कर्णालीका दुई मन्त्रीले लिए शपथ



सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन्।

सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए।

गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए।

गत बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो। मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई सोमबार शपथ खुवाइएको हो।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन। कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने भएपनि आन्तरिक विवादका कारणले मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन।