काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् ।
सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको बताएका छन् ।
ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताएका छन् । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै एमाले नेता माधव नेपालले दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।