काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिने क्रममा अस्वभाविक दृश्य देखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले देश र जनताप्रती ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन्।
‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन्।
राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई उल्टै भने, ‘त्यो पर्दैन।’
प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का मुस्कुराइन्। सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो।