धनगढी एफसी फाइनलमा



काठमाडौं। काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको पहिलो क्वालिफायरमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै धनगढीले पुनरागमन जित हात पारेको हो । धनगढीका लागि मार्की प्लेअर विशाल राईले अतिरिक्त समयमा विजयी गोल गरे ।

त्यसअघि लिग चरणमा पनि धनगढीले काठमाडौंलाई पराजित गरेको थियो । लिगमा सर्वाधिक ४ खेल जित्दै काठमाडौं १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा १० अंकसहित धनगढी दोस्रो भएको थियो ।

पहिलो क्वालिफायर जितेपछि धनगढीलाई फाइनल अघि फाइदा पुगेको छ । धनगढीले अब शनिबार फाइनल खेल्नेछ र ३ दिनको बिश्रामसमेत पाउनेछ ।

काठमाडौंले पनि फाइनलका लागि अर्को अवसर पाउनेछ । बुधबार हुने ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एपसीबीचको विजेतासंग काठमाडौंले बिहीबार अर्को क्वालिफायर खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको १६ औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले करिब २५ यार्डबाट गरेको प्रहार क्रस बारेमा लागेर फर्केको थियो ।

दोस्रो हाफको अन्तिम १५ मिनेटमा भने दुई गोल भयो । ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठाडौंलाई अग्रता दिलाएका थिए । उनले मेसोउके ओलोमोउको क्रसमा ६ यार्ड बक्सबाट हेडर मार्फत गोल गरे । धनगढीका कप्तान गोलकिपर किरणले रोक्ने अवसर नै पाएनन् ।

एक गोल हुनेबित्तिकै खेलको गति बढ्यो । धनगढी दुई मिनेटपछि नै बराबरी गोल फर्कायो । काठमाडौंका गोलकिपर कप्तान विकेश कुथुको गल्तीको फाइदा उठाउँदै धनगढका पुजन उपरकोटीले एक्रोब्याटिक सटमार्फत उत्कृष्ट गोल गरे ।

निशान खड्काको कर्नर पन्च गर्दै विकेश अघि त्यसलाई अझ बचाउन अगाडि बढेका थिए । तर फ्रांकलिन क्वेटा टालाको हेडमार्फत प्राप्त बलमा पुजनले उत्कृष्ट गोल गरे ।

इन्जुरी टाइमको चौथो मिनेटमा काठमाडौंले पेनाल्टी एरिया बाहिरबाट फ्रिक पाएको थियो । स्टेफेन विनोङ समिरको फ्रिकिक क्रस बारको ठीक माथिबाट बाहिरियो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयमा विशाल राईले निर्णायक गोल गर्दै धनगढीलाई फाइनल पुर्‍याए ।

१०८औं मिनेटमा मार्की खेलाडी विशाल राईले गोल गर्दै धनगढीलाई २-१ को अग्रता दिलाए । एक गोलले पछि परेपनि काठमाडौंले बराबरी गोल गर्ने अवसर पाएको थियो तर फिनिसिङमा चुक्दा पराजित भयो ।