प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता



सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भेटवार्ता भएको छ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच कोभिडसहित अन्य केही विषयमा नियमित भेटवार्ता भएको हो।

भेटको क्रममा प्रदेश प्रमुख कलौनीले हाल कोभिड–१९ को नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिबारे चासो व्यक्त गरेका छन्।

जवाफमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिड महामारी फैलिन नदिनेगरी प्रयासहरु भैरहेको जानकारी गराएका छन्।

मुख्यमन्त्री शाहीले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको जानकारी दिए।