पोखरासंग चितवन एफसी २-१ ले पराजित



काठमाडौं। एफसी चितवन नेपाल सुपर लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ।

शुक्रबार ८५ मिनेटसम्म एक गोलको अग्रता बनाएर जितनजिक पुगेको चितवन पोखरा थण्डर्ससंग २-१ ले पराजित हुँदै बाहिरिएको हो।

अन्तिम ५ मिनेट दश खेलाडीमा समेटिएको चितवनविरुद्ध दुई गोल गर्दै पोखराले प्रतियोगितामा दोस्रो जित हात पार्दै प्लेअफ होड कायमै राखेको छ ।

पोखरालाई दोस्रो जित दिलाउन मार्की खेलाडी नवयुग श्रेष्ठ र विदेशी खेलाडी राफायल बिदियसले गोल गरे । चितवनका लागि शिशिर लेखीले गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७० औं मिनेटमा चितवनले अग्रता लिने अवसर गुमाएको थियो । चितवनका रुपबहादुर लामाले सिमान्त थापाको क्रसमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको क्रस बारमा लागेको थियो ।

तर ७३ औं मिनेटमा शिशिर लेखीको गोलबाट चितवनले अग्रता लिएको थियो । ८१ औं मिनेटमा चितवनका गोलकिपर विशाल सुनारले रातो कार्ड पाएपछि खेलमा नाटकीय मोड आयो ।

पेनाल्टी एरियाबाहिर आएर हातले बल छोएपछि विशालले रातो कार्ड पाए । पेनाल्टी एरियाको ठीक बाहिरबाट फ्रिकिकमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । वैकल्पिक गोलकिपरको रुपमा मैदान प्रवेश गरेका विवश चौधरीले नवयुगको फ्रिकिक रोक्ने कुनै अवसर नै पाएनन् ।

८८ औं मिनेटमा राजेश परियारको प्रहार चितवनका गोलकिपर चौधरीको हातमा छोएर पोष्टमा लागेर फर्कियो । त्यसैमा नवयुग श्रेष्ठको प्रहार विवशले बचाए ।

इन्जुरी टाइमको चौथो मिनेटमा राफायल रिमगागोले गोल गर्दै पोखरालाई २-१ को जित दिलाए ।

लिग चरणको सबै ६ खेल खेलिसकेको पोखरा दोस्रो जितपछि ८ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । पोखराले २ खेलमा जित हात पार्दा २ बराबरी र २ हारको नतिजा निकालेको थियो ।

पोखराले अब प्लेअफमा स्थान बनाउन शनिबार हुने दुवै खेलको नतिजा आफू अनुकुल आउनुपर्नेछ ।

लिगमा शनिबार विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा प्लेअफ पुगिसकेको एनगढी एफसी र बुटवल लुम्बनी एफसीबीच खेल हुनेछ । विराटनगर र ललितपुरबीचको विजेता टोली प्लेअफमा पुग्नेछ ।

विराटनगर ७ अंकसहित चौथो र ६ अंक रहेको ललितपुर पाँचौ स्थानमा छ । बुटवल ५ अंकसहित छैटौं स्थानमा छ । पोखरा प्लेअफ पुग्न बुटवल धनगढीसंग पराजित हुनुपर्नेछ र खेल बराबरी हुनुपर्नेछ । बुटवल विजयी भएको अवस्थामा हेड टु हेडमा बुटवलले पोखरालाई पछि पार्नेछ ।

उता तेस्रो हार व्यहोरेको चितवनको ५ खेलबाट २ अंक मात्र छ र अन्तिम लिग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले अन्तिम खेलमा आइतबार प्लेअफ पुगिसकेको काठमाडौं रेजर्ससंग प्रतिस्पर्धा गर्नेछ।