रहेनन् प्रेमध्वज प्रधान



काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र लोकप्रिय गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

वरिष्ठ गायक प्रेमध्वजको बिहीबार ८३ वर्षको उमेरमा काठमाडाैँको न्यूरो अस्पतालमा निधन भएको हो।

छातीको दुखाइका कारण सास फेर्न गाह्रो भएकाले बिहान अस्पताल पुर्याइएका प्रधानको उपचारका क्रममा निधन भएको हो ।

प्रेमध्वजले ‘घुम्तीमा नआऊ है’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत धेरै कालजयी गीतहरु हामीलाई छाडेर गएका छन् । यी गीत नेपाली सांगीतिक आकाशमा पहिलेझैं अबका दिनमा पनि अवश्य गुन्जिनेछन् । फरक यत्ति हो– प्रेमध्वजलाई अब हामीले सशरीर भेट्न पाउने छैनौं ।

वि.सं.१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधानको घरमा सांगीतिक माहोल थियो। घरमा दिनहुँजस्तो हुने सांगीतिक कार्यक्रमको प्रभावका कारणले उनको पनि संगीतप्रति रूची बढेको थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएपछि औपचारिक गायन सुरु गरेका प्रधान चर्चित र स्टाइलिस्ट गायकका रुपमा परिचित थिए ।

राष्ट्रिय गीत, नेवारी गीत, भजन र फिल्मको गीतमा समेत स्वर दिएका प्रधान नेपालमा पहिलोपटक गिटार बजाउने गायकका रुपमा पनि चिनिन्छन्।