कोरोना हप्ता दिनमा १२७ प्रतिशत वृद्धि



काठमाडौं। अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेपालमा झण्डै १२७ प्रतिशतले कोरोना संक्रमित वृद्धि भएका छन्।

काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा.अर्चना श्रेष्ठले अरु देशको तुलनामा अझै पनि नेपालमा संक्रमण फैलिरहेको पाइएको बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बताइन्।

अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या बढेको तथ्यांक प्रस्तुत गरेकी उनले लुम्बिनीमा सर्वाधिक ३८४ प्रतिशत संक्रमित बढेको बताइन्। यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा १०९, बागमतीमा १२२, प्रदेश २ मा १३० र प्रदेश १ मा १४७ प्रतिशत संक्रमित बढेको उनको भनाइ छ। यो तथ्यांकले देशभित्रै प्रदेशगत रुपमा हेर्दा पनि संक्रमण द्रुत गतिमा फैलिरहेको पुष्टि हुने उनको भनाइ छ।

उनले भनिन्, ‘अघिल्लो हप्ताको तुलनामा यो हप्ता हेर्ने हो भने सबै प्रदेशमा १०० प्रतिशत भन्दा बढी संक्रमितको संख्यामा वृद्धि भएको देखिन्छ।’