खनाल-नेपाल पक्षका सांसदले राजीनामा दिने!



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन्।

यो अवस्थामा राजनीतिक रूपमा विभाजित रहेको नेकपा एमालेको स्थिति के होला?

यो प्रश्नमा केन्द्रित रहेर दुई विकल्पमा चर्चा भइरहेको बेला एकाएक तेस्रो नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ।

पहिलो, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र पार्टी एकताको पक्षमा आफूहरू रहेको सन्देश स्थापित गर्ने।

अनि दोस्रो, ओलीले यसबीचमा आफूहरूसँग संवाद र सहयोगको याचना नगर्ने र पार्टी एक बनाउन पहल नगर्ने हो भने संसदमै उपस्थित भएर विपक्षमा मतदान गर्ने वा अनुपस्थित हुने।

तर माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको छ। त्यो भनेको, ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याउन सामूहिक राजिनामा दिने। ओलीको अचाक्ली र स्वेच्छाचारीतालाई खनाल-नेपाल समूहले परास्त गर्न पदबिहिन हुन तयारी गरेको अवस्था छ।