कर्णालीमा कोरोना कहर: एक साता लकडाउन गरिने



सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ। भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ। सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जसमध्ये ६० जना नयाँ संक्रमित सुर्खेतका छन्। त्यस्तै दैलेखका दुईजना, जाजरकोट, कालिकोट र जुम्लाका एक-एकजना र तीनजना अन्य प्रदेशका रहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए।

वीरेन्द्रनगरमा सोमबारसम्म संक्रमितको संख्या ३३८ पुगिसकेको छ भने २८ जना कर्णाली प्रदेश अस्पतालमा रहेका छन्। पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश स्वास्थ्य निर्देशक डा। रविन खड्काले बताए।

त्यस्तै सुर्खेत जिल्ला (कोभिड-१९) संकट व्यवस्थापन केन्द्रले भोलि १४ गते मंगलबार राति १२ बजेदेखि लागू हुने गरि एक हप्तासम्म लकडाउन गर्न जिल्ला सुरक्षा समितिसमक्ष सिफारिस गरेको छ।