सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित



चेन्नई। इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै हैदरावादले ६ बलमा ७ रन बनायो । सुपर ओभरमा बलिङको जिम्मेवारी पाएका अक्षर पटेलले पहिलो बल डट फाले । दोस्रो बलमा डेविड वार्नरले एक रन लिए । तेस्रो बलमा केन विलियम्सनले चौका प्रहार गरे भने चौथो बल रनविहीन भयो । पाँचौं बलमा विलियम्सनले लेगबाइ रन लिए भने अन्तिम बलमा वार्नरले एक रनमात्र लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले अन्तिम बलमा रोमाञ्चक जित हासिल गरेको हो । हैदरावादका लागि बलिङको जिम्मा रसिद खानले पाएका थिए । उनको पहिलो बलमा दिल्लीका ऋषभ पन्तले एक रन लिए । दोस्रो बलमा शिखर धवनले लेगबाइ बापत एक रन जोडे भने तेस्रो बलमा ऋषभले चौका प्रहार गरे । चौथो बल डट रहे पनि पाँचौं बलमा दिल्लीले पुनः लेगबाइ बापत एक रन बटुल्यो । छैटौं बलमा लेगबाइ बापत अर्को एक रन जोड्दै दिल्लीले जित हासिल गरेको हो ।

यसअघि पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ भने हैदरावाद सातौं नम्बरमा छ ।

प्रतियोगितामा सामेल ८ वटै टिमले पाँच–पाँच म्याच खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा चेन्नई सुपरकिङ्ग्स छ भने दोस्रोमा दिल्ली, तेस्रोमा रोयल च्यालेन्जर्स बेंग्लोर, चौथोमा मुम्बई इन्डियन्स, पाँचौंमा पञ्जाव किङ्ग्स, छैटौंमा राजस्थान रोयल्स, सातौंमा हैदरावाद र आठौंमा कोलकाता नाइट राइडर्स छ ।