२७ जना सांसदलाई उपयुक्त समयमा कारबाही गर्ने एमालेको निर्णय



काठमाडौँ। नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल पक्षका सांसदलाई तत्काल कारबाही नहुने भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगर्ने र उपयुक्त समयमा गर्ने निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।

उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए। यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ।

गत शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो। बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो। यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो।