नेपाल पक्षका सांसदमाथि कारबाही गर्ने ओलीको तयारी



काठमाडौँ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षी दललाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको थियाे। आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ।

बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथिसमेत कारवाही गर्ने तयारी गरेको बताइएको छ। शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो। बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो। तर, ​अविश्वास प्रस्तावका पक्षमा उभिने नेपाल पक्षले प्रतिवद्धता जनाको भन्दै आयोजक कमिटीकै बैठकबाटै निर्णय लिन लागिएको थापाको भनाइ छ।