प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित २२ तले धरहराको उद्घाटन गरेका छन्।

धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्। धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए।

त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए। लिफ्टबाट २०औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टिसमेत गरेका थिए। २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो। धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ। यसको अग्लाइ जमीनबाट ८३।८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए। १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो। सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन। त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन। धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ। यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ। पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ। २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो। महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए। त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले पुनर्निर्माण गराएका थिए।

२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो। धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढी लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

तस्बिर: विनोद कटुवाल