फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद एमालेबाट निश्काशित



काठमाडौँ। नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए। पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।