मेसीले दुुई गोलमा बार्सिलोना तेस्रो स्थानमा



काठमाडौँ। लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ। मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए।

तर १२औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो। २८औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे। ३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो।

गेटाफेबाट ६९ मिनेटमा पेनाल्टीमार्फत इन्स नालले गोल फर्काएका थिए। तर, ८७औं मिनेटमा रोनाल्ड अरुजो र इन्जुरी समयमा एन्टोनिया ग्रिजम्यानले एक एक गोल गर्दै बार्सालाई ५–२ को जीत दिलाए।

जीतसँगै बार्साले ३१ खेलबाट ६८ अंक जोडेको छ। समान ३२ खेलबाट ७३ र ७० अंंक जोड्दै एथलेटिको म्याड्रिड र रियल म्याड्रिड क्रमश पहिलो र दोस्रो स्थानमा छन्। चौथो स्थानको सेभियाले ३२ खेलबाट ६७ अंक बटुलेको छ।