ओली-नेपाल भेटवार्ता: धरहरा हेर्ने बाहेक थप प्रगति भएन



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता बिना निष्कर्ष सकिएको छ।

राजधानीको नागपोखरीस्थित होटेल मेरियटमा डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो। त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ। ओलीसँगको दुई दिनको निरन्तर भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’

नेपाल समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व ३ जेठ २०७५ मा कायम रहेको पार्टी संरचना, विधानमा फर्किनुपर्ने माग गरेको छ। नेपाल समूहका एक नेता भन्छन्, ‘पार्टीमा देखिएको समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि आएको छैन, २८ फागुन र त्यससताका निर्णयहरुबाट पछाडि हट्न पनि तयार हुनुहुन्न।’ यता ओली पक्षले नेपाल पक्षका ३२ जना सांसदलाई सांसद र पार्टीको साधारण सदस्यबाट किन कारबाही नगर्ने ? भन्दै स्पष्टीकरण सोधिसकेको छ।

दुबै नेताले वार्ता स्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’,थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन्। एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।