७२औं स्थापना दिवस: टुटफुटको गन्जागोलमा नेकपा



काठमाडौँ। टुटफुट र जालझेलबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले बुधबार ७२औं स्थापना दिवस मनाउँदै छन्।

७२ वर्षअघि आजकै दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए। यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो । बिभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो। यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् ।

२०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा बिभिन्न चिरामा बिभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो ।

२०५४ सालमा एमाले बिभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो। ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत सिट जित्न सफल भए। यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो।

चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टी बीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन्। सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजनको संघारमा पुगेको छ। आन्तरिक विवादले कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराशमात्र बनेका छैनन् नेताहरुप्रति पनि वितृष्णा पनि बढेको छ।