काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतलाई गालि गरेर उदाएको आज भारतकै शरणमा पुगेको आरोप लगाएका छन्।
सोमबार नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन्।
साथै उनले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे। कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए। आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए।
उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भए। भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके। कहाँ छ उनको राष्ट्रवाद। त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन। यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ। मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ। राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरू लागिरहेका छौं।’
आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए। ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए। त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए।
उनले भने, ‘नेपालमा धेरै ठूलो चुनौति आएको छ। प्रजातन्त्रमाथि खतरा आएको छ। एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हर ठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ। अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ। त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नी किन चाहँदैन मैले। कुरा के हो भने स्योरसट हुनुपर्यो। त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ। अहिले मैले केही भन्न सक्ने अवस्था छैन। झुट बोलेर काम पनि छैन्। मैले तपाईहरुलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन। बहुमतको सरकार छ त्यहाँ। अहिले सम्म बहुमतको सरकार भन्नु प¥यो नी फिर्ता निलए सम्म त । माओवादी र एमाले मिलेर बहुमत छ। के गर्ने अब। प्रचण्डले फिर्ता लिएका छैनन्।’
कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्य सहित अगाडि बढिराखेको बताए। त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपूर दुरुपयोग भइरहेको पनि बताए। न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि बताए।