प्रचण्डलाई ओलीको प्रश्न,‘एकातिर सुशासन भन्ने अर्कोतिर भ्रष्टाचार गर्ने?’



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा दुई मुखे प्रवृत्ति रहेको आरोप लगाएका छन्।

प्रचण्डमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको उनको आरोप छ। ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने, तर अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने?,’ प्रधानमन्त्री ओलीले भने।

प्रचण्ड र माधवकुमार नेपाललाई जनताले धूलो चटाउने ओलीले दाबी गरे। ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,’ ओलीको भनाइ छ।

बालुवाटारमा सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाललगायत नेताहरुमाथि थप कारबाही हुने बताए। कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन्। अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ।’

नेपाल समूहले (माओवादी केन्द्रका अध्यक्ष) प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप छ।