‘ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाइसक्यो’



काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकाले हठातमा अधिवेशन अन्त्य गरेको बताएका हुन्।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेका छन्। नेता सिंहले असंवैधानिक रुपमा संसद विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसदलाई सामना गर्न नसकेको बताए। संसदलाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उनले बताए।

राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताए। चुनावबाट काँग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट प्राप्त भएपनि कम्युनिष्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताए। उनले पारदर्शी चुनाव गराउनका लागि पनि काँग्रेस नेतृत्वको सरकार चाहिने बताए।

सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दलहरूलाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैले ठाउँठाउँमा सभा र भेला गर्दै हिँडेको पनि बताए। ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताए।