सभामुखसँग छलफल नै नगरि संसद अधिवेशन अन्त्य



काठमाडौँ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन्।

राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन्। राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो। तर, यता सभामुख सापकोटासँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ।

सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ। तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरेका थिए।