कार्यकर्ता रिहा नगरेपछि ओली र विप्लवबीच भेटवार्ता



काठमाडौँ। सरकार र हालै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको नेकपा विप्लव समूहबीच छलफल भएको छ।

पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बादल र महासचिव विप्लवबीच कार्यकर्ता रिहाईका सन्दर्भमा छलफल भएको छ।

प्रवक्ता प्रकाण्डले सामाजिक सञ्जाल फेशकुकमा लेखेका छन्, ‘३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता कार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्री विच छलफल भयो।’

स्रोतका अनुसार छलफलमा महासचिव विप्लवले वार्ताका क्रममा भएका सहमतिहरु पालना गर्ने काममा विलम्व किन भयो ? भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका छन्। जवाफमा सक्दो चाँडो र मिल्नेसम्मका बन्दीहरुलाई छोडिने ओलीले बताएका छन्।

छलफलका क्रममा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई देशको राजनीतिक समस्या अत्यास लाग्ने गरी जटिल स्थितिमा पुगेको र यो अवस्थालाई ध्यानमा राखेर अग्रगामी ढङ्गले समस्या समाधानका लागि अघि बढ्न सुझाव दिएका थिए। सरकार र नेकपाका शीर्ष नेताहहरूबीच देशको विकास निर्माणका विषयमा समेत महत्वपूर्ण परामर्श र समझदारी भएको छ।

विशेषगरी आमजनताको जनजीविकासम्बन्धी समस्या दीर्घकालीन रूपले समाधान गर्न राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्नुपर्ने, त्यसका लागि कृषि क्षेत्रलाई उत्पादनको प्रमुख माध्यमका रूपमा विकास गर्ने, औद्योगिक क्षेत्रमा साना, मझौला र राष्ट्रिय उद्योगहरूमा राष्ट्रिय लगानी गर्न प्रोत्साहित गर्न विशेष नीति तर्जुमा गर्नुपर्ने, आमयुवालाई कृषि, उद्योग, पर्यटनलगायत सबै क्षेत्रमा रोजगारी सुनिश्चित गरी युवाहरूलाई राष्ट्रिय अर्थतन्त्रको चालक शक्तिका रूपमा विकास गर्नुुपर्ने, उपेक्षित र ग्रामीण क्षेत्रमा सडक खानेपानी, विद्युतलगायत भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेलगायत विषयमा समेत समझदारी भएको नेकपाको उच्च स्रोतले जनाएको छ।