काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए।
शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए।
सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताए ।
सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पारे ।
संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए। संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि बताए । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताए ।
संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिएका छन् ।