काठमाडौं। राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेपछि गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन्।
आइतबार राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो।
पत्र प्राप्त भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन्। सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।
राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वत: पदमुक्त भएका ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुन: गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन्।