कर्णालीको अवस्था देशभर हुन सक्छ: भीम रावल



कैलाली। नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन्।

शनिबार नेकपा एमालेको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले पार्टीको विधान नमान्ने, कानुन नमान्ने र मनपरी गर्नेका विरुद्ध कर्णाली प्रदेशमा मात्र नभइ सुदूरपश्चिममा पनि सोही हबिगत हुने बताए । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप नमानी फ्लोर क्रस गरेर चार जना नेकपा एमालेका प्रदेश सभा सदस्यले विश्वासको मत दिनु कुनै गल्ती नभएको नेता रावलको भनाइ छ ।

उनीहरुले पार्टीलाई एकढिक्का बनाउन, पार्टीको स्वाधिनता, एकतालाई मजबुत पार्न र पार्टीको अनुशासन, विधान नमान्ने विरुद्धमा दिएको मत मात्र भएको उनले बताए ।

उनले पार्टीको रक्षाका निमित्त कर्णाली प्रदेशकै जस्तै देशैभरि हुने बताए। विगतमा पार्टी एक हुँदा कर्णाली प्रदेशका प्रमुख सचेतकलाई हटाउँदा केपी शर्मा ओलीले ठाडो चुनौती दिएको बताए।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लगाएको स्मरण गर्दै रावलले भने ‘केपी ओलीले त्यतिखेर नै प्रदेश सरकारलाई हलचल गर्ने अस्थिर बनाउने सुरु गरेका थिए।’ उहिल्यै उम्रेको त्यो बीउ ठूलो भयो र फल पनि दियो उनले भने , अव त्यो फल केपी शर्मा ओलीले बालुवाटारमा मज्जाले खानुहुन्छ । उनले दलित आन्दोलन र अधिकारका लागि लडेका पार्टी नेता तथा कार्यकर्तालाई कारवाही गर्नु केपीको मनपरितन्त्र भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई हेप्ने गरेको बताउँदै उनले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएको उपाध्यक्ष आफू भएको र कानुन मिचेर गरिएको कारबाही मान्य नहुने बताए । व्यक्तिलाई सिद्याएर राष्ट्रियताको आन्दोलन नरोकिने उनको तर्क थियो । पार्टीमा कुनै योगदान नरहेकाहरुलाई प्रधानमन्त्री ओलीले विधान मिची केन्द्रीय सदस्य, इन्चार्ज बनाएको उनको जिकिर थियो । एमाले पार्टीमा कुनै योगदान नभएकालाई कसैले इन्चार्ज स्विकार नगर्ने उनको भनाइ थियो ।

ओलीले कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न खोजेको आरोप लगाउँदै उनले प्रतिनिधि सभालाई विघटन गरी विदेशीलाई खुसी पार्न खोजेको बताए ।्ओलीले भारतीय गुप्तचरलाई बोलाएर राति ९ बजेदेखि १२ बजेसम्म देशको स्वाभिमानलाई मिचेर बालुवाटारमा वार्ता गर्नु ठूलो भूल गरेको उनको ठहर छ ।

नेता रावलले स्वतन्त्र भएको देशका व्यक्तिले कुनै अर्को विदेशी गुप्तचरलाई बोलाएर वार्ता गर्नेका बिरुद्धको अहिलेको आवाज भएको बताए । उनले देशलाई राजनीतिक अस्थिरता तिर धकेल्ने काम ओलीको भएको बताए । उनले सत्ताको दुरुपयोग र पार्टी विभाजनलाई रोक्नका लागि मात्र अहिलेको संघर्ष भएको बताए ।