कर्णालीमा फ्लोर क्रसपछि प्रचण्ड र नेपालीबीच भेटवार्ता



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ।

उनीहरूबीच शनिबार बिहान साढे ९ बजेतिर भेट भएको स्रोतले जनायो। नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएका थिए। उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ। शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले (फ्लोर क्रस) गरेका थिए।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए। कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो। मतदानका क्रममा सांसद देवी ओलीले आफ्नो मत सच्याएकी थिइन्। त्यसकै भोलिपल्ट नेपाल र प्रचण्डबीच भेट भएको हो।