एमसीसी अड्काएर राख्नु हुँदैन: रामचन्द्र पौडेल



केबी थपा (सुमन)

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई अड्काएर राख्न नहुने बताए।

प्रधानमन्त्री केपी ओलीले शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकममा सहभागि भएका नेता पौडेलले कांग्रेसको सरकारकै पालामा आएकाले एमसीसीका बारेमा सभामुखले कदम चाल्नुपर्ने धारणा राखेको बताए।

उनले भने, ‘एसीसीका बारेमा सत्य तथ्य जाचबुझ गरेर अगाडि बढाउनु पर्छ। केही सच्याउनु पर्ने कुराहरु छन् भने त्यो पनि हेर्नुपर्यो। संसदमा ल्याउनु पर्यो। यसमा आपत्तिजनक केही छ भने, छलफल गर्नुपर्यो। तर, यसरी अड्काएर राख्नु भएन।

यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए।

बैठकका कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए। ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ। यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् , आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ। निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो। काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए। यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।