सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल (भिडियोसहित)



काठमाडौँ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरी तीन वटा विषयमाथि छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँगको कुराकानीमा तीन वटा विषयका बारेमा छलफल भएको जानकारी दिए।

उनले भने, ‘बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएका विधेयक (एमसीसी, एसीडलगायत) बारे छलफल केन्द्रीत भएको थियो। साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भयो।’

बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका थिए। त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए। यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए।

तस्बिर/भिडियो: केबी थापा (सुमन)