सर्वदलीय बैठकमा एमसीसी जोडतोडले उठ्यो



काठमाडौँ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा जोडतोडले आवाज उठेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए।

साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए। बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका थिए। त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए । यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए ।

बैठकका कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए। ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् , आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ। निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो। काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए। यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

तस्बिरः केबी थापा (सुमन)