काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन्।
संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे।
बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए।
‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा. लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’
बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए। बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए।