‘कर्णालीले केन्द्र सरकार भएको अनुभूति गरेन’



सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद विन्दमान बिष्टले कर्णालीका जनताहरुले अझैंसम्म पनि केन्द्र सरकारको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन्।

प्रदेश सरकार र स्थानीय सरकारका कारण जनताले राज्य छ भन्ने अनुभूति गर्न पाएको दाबी गरे। शुक्रबार प्रदेशसभाको सातौं अधिवेशनमा बोल्दै सांसद बिष्टले कर्णाली प्रदेशको विकास, समृद्धि र जनताको चाहनालाई साकार पार्ने काममा प्रदेश सरकार लागि परेको बताए।

उनले भने, ‘कर्णालीको हितमा प्रदेश सरकार क्रियाशील छ। प्रदेशसभा क्रियाशील छ। यो कुरा सबैमा जगजायर नै छ।’ साथै नेता बिष्टले संघीय संरकारले प्रदेश सरकारलाई हेर्ने नजरिया फरक रहेको टिप्पणी गरे। उनले भने, ‘केन्द्र सरकारले खासरी कानूनी कोर्णबाट प्रदेश सरकारलाई रोक्न खोज्ने, विकासका काममहरुमा बाधा सिर्जना गर्ने काम गरिहेको देखिन्छ। यसरी हेर्दा कर्णालीका जनताहरुले स्थानीय र प्रदेश सरकारको अनुभूति गरिरहेका छन्। काठमाडौँंबाट हेपिएको अनुभूति गर्नु परेको छैन। कर्णाली प्रदेश सरकार छ, भन्ने जनतामा अनुभूति छ।’

जनताको अपेक्षाअनुसार काम नभएको स्वीकार गरेका बिष्टले आगामी दिनहरुमा सच्चिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘कर्णाली करिडोरको डिपीआर तयार पारियो। केन्द्रमा पठाईयो। आजसम्म केन्द्र सरकारको कुन घर्रामा थन्किएको छ? त्यो हामीलाई जानकारी छैन। यस्तो किन हुँदैछ? कर्णालीका मानिसहरुको तीव्र विकासको आकांक्षा छ। तर, कामको गति विभिन्न कारणहरुले मन्द भएको अवश्य हो।’

नेता बिष्टले कर्णालीको विकास र समृद्धिसँगै राजनीतिक स्थिरताको लागि माओवादी सरकारको निरन्तरता आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए। उनले भनेका थिए, ‘वर्तमा सरकारको निरन्तरताले मात्रै कर्णालीको विकास र समृद्धिको नेतृत्व सम्भव छ। राजनीतिक स्थिरता हासिल हुन सक्दछ। प्रश्नहरु प्रशस्त छन्। ति प्रश्नको हल गर्न सकिने अवस्था छ। त्यसैले विश्वासकाे मत दिनका लागि अनुराेध गर्दछु।’