महासंघका केन्द्रीय सदस्य शर्माको घरमा प्रहरीको छापा



काठमाडौँ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ।

समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका साथै धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए।

समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा प्रहरीले विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो भन्दै परिवारलाई समेत धम्की दिएको पुरीले बताएका छन्। यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ ।

नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार गरेर समाचारका विषयमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्न उनले माग गरेका छन् । शर्मा सम्पादक रहेको अनलाइनले प्रधानमन्त्री र भारतीय गुप्तचर निकायका प्रमुखबारेको समाचार छापिएको थियो ।